देश मरेको इतिहास कोर्दै छु

(कविता)

  दीप मिलन प्रधान  105 पटक हेरिएको

म कुरूप छु
म यतिबेला बेरङ छु
चाख्दा स्वाद नआउने स्वाद बनेको छु
म यतिबेला घायल छु
कसैको आँखाअघि एउटा कहानी बनेको छु
कथा बन्दै छु, एउटा इतिहास बनिसकेको छु
म कति सुन्दर थिएँ
कति शान्त थिएँ अनि थिएँ कति विशाल
तिमीले कहिल्यै सोध्यौ
रस्किनको दुखाइ ?
अलमाको पीडा ?

बमगोला, मिसाइलले चरचर चर्किएको मेरो पवित्र भूमिमा
खुनका खोलासिवाय यतिबेला केही छैन
थुक्क शक्तिशाली देश
थुक्क तमाशा हेरिरहेका सङ्गीन मित्रहरू
तिमीहरूमा के नै छ र
तिमीले गर्न नै के सक्छौ र
दर्शक भई हेर्नुसिवाय
पशुसरह मरिरहेको मानव अस्तित्व !

धिक्कार छ तिम्रो हुङ्कार
यतिबेला म आफ्नै कथा लेख्दै छु
चाहिएन कसैको बैशाखी
कसैको कृत्रिम सम्मोहन ।

तिम्रो दानव रूप देखिसक्या छु
बस तिमी तिम्रै गीत गाऊ
म आफ्नै रगतले बलिको कथा लेख्दै छु
म देश मरेको इतिहास कोर्दै छु
बस् मृतात्माको सम्झनामा ।

मिरिक, दार्जिलिङ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार