आमाको माया

(बालकविता)

  रमेशचन्द्र घिमिरे  364 पटक हेरिएको

क क न न भनेर मीठो बोल्न सिकाउँछिन्
हात समाई विस्तारै ताते ताते गराउँछिन्
मलाई मेरी आमाले अघिअघि बढाउँछिन्
ममताकी खानीको सधैँ पाउ पर्छु म
मेरी आमा तिमीलाई धेरै माया गर्छु म !

तारा बाजी भनेर गीत गाउन सिकाउँछिन्
फुकाएर पुस्तक क ख ग घ पढाउँछिन्
मलाई गुरुआमाले अघि अघि बढाउँछिन्
अक्षरका बीउ यी पानाभरि छर्छु म
गुरुआमा तिमीलाई धेरै माया गर्छु म !

नेपाली हुँ भनेर गर्व गर्न सिकाउँछिन्
मेचीदेखि कालीको छातीभित्र अटाउँछिन्
मलाई नेपाल आमाले अघि अघि बढाउँछिन्
चोट लागे कुनै दिन तिम्रो दुःख हर्छु म
नेपाल आमा तिमीलाई धेरै माया गर्छु म !


भोर्लेटार, लमजुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार