जान्ने डाक्टर

लघुकथा

  कुसुम ज्ञवाली  590 पटक हेरिएको

लुरीको महिनावारी नहुँदै बिहे भएको थियो टुहुरो मोटे साइँलोसँग । परदेशी लोग्नेको मायाको गहिरो अनुभूति गर्नुभन्दा पहिल्यै लुरीले वर्षौंटे बच्चाहरू जन्माई ।
 
हेर्दाहेर्दै लुरीका बालबच्चाहरू हुर्के, हुर्केका बच्चाहरूले साथ छाडेर आफ्ना गन्तव्ष्य रोजे । अधबैँसे लुरी अनायास एक्ली भई । एक्ली लुरी तारन्तार बिरामी पर्न थाली । मोटेले मुग्लानबाट भन्यो, ‘ठूला डाक्टरकोमा जाऊ, जति पर्छ उपचार गर, म छु, खर्चको चिन्ता नगर ।’
 
लुरी मुटु दुखेको व्यथा जचाउन प्रख्यात डा. कोइरालाकोमा गई । रगत, मलमुत्रलगायत सबै जाँचे । रोग यकिन भएन । तैपनि डाक्टरले लेखिदिएको औषधि खाई, बिसेक भएन ।
 
लुरी प्रख्यात स्त्रीरोग विशेषज्ञ डा. सावित्रीकोमा तल्लो पेट दुखेको व्यथा सुनाउन पुगी । पहिले जाँचेका रिपोर्टहरूको थाक देखाई । तर फेरि रगत, मलमुत्रलगायत जाँच्न भने, जँचाई पनि । तर रोग यकिन भएन । तैपनि डाक्टरले लेखिदिएको औषधि खाई, व्यथा घट्दैघटेन लुरीको ।
 
एवम् रीतले लुरी डा. पाण्डे, डा. ज्ञवाली, डा. लिम्बू, डा. श्रीवास्तव, डा. बर्देवा, डा. खड्गी, यस्तै प्रख्यात धेरैजना डाक्टकोमा पुगी । अहँ, बिरामी बिसेक भएन । मोटेले पठाएको खर्चले पनि पुगेन ।
 
उता, मोटेले काम गर्ने कारखानामा दङ्गा हुँदा आगलागी भयो, मजदुर सहकर्मीको ज्यान बचाउन खोज्दा सामान्य घाइते भयो, मन एकोहोरियो । जागिर छाडेर रित्तै घर फक्र्यो ।
 
थोरै पुख्र्यौली जमीन छ, दिनभरी तरकारीखेतीमा जोतित थाल्यो । साँझबिहान लुरीलाई तातो पानीको थैलोले छातीमा सेक्न सुरु ग-यो । मुटु चस्कने रोग अलिकति कम हुन थालेको भान भयो लुरीलाई ।
 
घरको तोरीको तातो तेलले लुरीको जोर्नी मालिस गरिदिन पनि थाल्यो मोटेले, लुरीका हातखुट्टा बाउडिन पनि कमी हुन थाल्यो ।
 
नुनपानी तताई ठूलो बाँटामा बसालेर लुरीको तल्लो पेट सुमसुम्यायो मोटेले । त्यतिबेला लुरीलाई बडो आराम मिल्यो ।
 
सहरका ठूला डाक्टरहरूका अनेक उपचारबाट कत्ति पनि बिसेक हुन नसकेकी लुरी यो पवित्र प्रणयपूर्ण उपचारबाट निकै बिसेक हुँदै आएकी छे । लुरीलाई सहरका प्रख्यात जान्ने र छोइनसक्नु महङ्गा डाक्टरहरूभन्दा आफ्नै मोटे साइँलो निकै जान्ने डाक्टर लागिरहेछ अचेल !

 

गुल्मी, हाल: क्यानाडा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार