गीतकार घनबहादुर थापामगरको ‘छोड्दै थिएँ जन्मथलो’

गीतको आयाम

  भावेश भुमरी  847 पटक हेरिएको

ललितपुर, वैशाख ११ गते । गीतकार दाजु घनबहादुर थापामगरको ‘छोड्दै थिएँ जन्मथलो…’ गीत वरिष्ठ सङ्गीतकार दिनेश सुब्बाको सङ्गीत र वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा हालै रेकर्ड भएको छ ।

कुनै सिर्जना यस्ता हुने रहेछन्, जो आफ्नाभन्दा पनि निकट र प्रिय बन्दा रहेछन् । गीतको वास्तविक रहस्य खोतल्दा बडो अनौठो मात्र होइन रोचक पनि बन्न पुग्दोरहेछ । घनबहादुर थापा दाजुको ‘छोड्दै थिएँ जन्मथलो…’ गीतसँग मेरो विशेष सम्बन्ध जोडिएका छ । यससँग मेरो रोचक मात्र होइन, पठनीय सन्दर्भहरू पनि गाँसिएका छन्  । यहाँ ‘गीतको आयाम’ स्तम्भमा म यिनै सन्दर्भहरू खोतल्ने छु । जुन कुनै कल्पना नभई वास्विक छन् ।

म नेपालबाट सन् २०१९ को अगस्त १७ का दिन हङकङको यात्रामा निस्केँ । आदरणीय साहित्यकार राजकुमार राईको साब्लाबुङ प्रकाशन हङकङद्वारा आयोजित ‘भावेश भुमरी एकल सिर्जना साँझ हङकङ’को कार्यक्रममा म आदरणीय सङ्गीतकार दिनेश सुब्बा  दाजुसँगै हङकङ जाने अवसर मिल्यो । मलाई राजुकार राई, जीतकर्ण राई, विशु सम, जयप्रकाश गुरुङ, युगमाया राना, शिला राना, कुमारी थापा, नेत्र पहराई र स्वयम दिनेश सुब्बा दाजुले हङकङ निम्त्याउने कार्य गर्नुभएको थियो ।

दिनेश सुब्बा दाजु, भीमा भाउजू, अन्य यात्रु र म बिहान ८ः३० बजेको फ्लाइटका लागि त्रिभुवन विमानस्थलमा पुगे तापनि प्लेन डिले भएका कारण हामीले दिउँसो ३ बजेसम्म सो विमानस्थलमै समय व्यतीत गर्नुपर्ने भयो । बिहानी खानाको व्यवस्थापन नेपाल एयरलाइन्सले नै ग¥यो । मेरो करिब ७ घन्टाको समय दिनेश सुब्बा दाजुसँगै बित्न थाल्यो । त्यसबीचमा हामीले नेपाली गीतसङ्गीत र साहित्यकै बारेमा छलफल ग¥यौँ । करिब २ बजेतिर हामीलाई प्रस्थान प्रतीक्षालयमा प्रवेश दिइयो । हामी प्रस्थान प्रतीक्षालयका कुर्चीहरूमा तेर्सी विभिन्न विषयका बारेमा कुरा गर्दै थियौँ । म विमानस्थलकै वाईफाईमा अनलाइन थिएँ । बेलायतबाट घनबहादुर थापामगर दाजुले कल गर्नुभयो । दाजुलाई मैले हङकङ जाने समय भनेको थिएँ तर प्लेन डिले भएको भने भनेको थिइनँ । दाजुले मलाई प्रश्न गर्नुभयो, ‘हङकङ पुग्नुभयो ?’ मैले प्लेन डिले भएकाले त्रिभुवन विमानस्थलकै प्रस्थान कक्षमा बस्दै गरेको भिडियो देखाएँ । छेउमा दिनेश सुब्बा दाजु हुनुभएको कुरा पनि गरेँ । घन दाजुले दिनेश दाजुसँग बोल्ने चाहना राख्नुभयो । मैले फोन दिनेश दाजुलाई दिएँ । उहाँहरूबीचमा गीतसङ्गीतकै कुरा भए । त्यतिबेलै घन दाजुले दिनेश दाजुलाई आफ्नो एउटा गीतमा सङ्गीत भर्न प्रस्ताव राख्नुभयो । दिनेश दाजुले पनि उहाँको प्रस्ताव स्वीकार्नुभयो ।

गीतका बारेमा छलफल गर्दै गायक दीप श्रेष्ठ र गीतकार घनबहादुर थापामगर

घन दाजु र कृष्णा थापा भाउजू २६ सेप्टेम्बर २०१९ का दिन युकेबाट नेपाल आउनुभयो । उहाँहरूसँग मेरो भेटघाट पनि भयो । म दशैँ र तिहारको बिदा मनाउन सपरिवार जन्मघर प्यूठान हिँडेँ । दाजु र भाउजू पनि दशैँपछि १८ अक्टोबरका दिन जन्मभूमि नेपालबाट कर्मभूमि बेलायततिर लाग्नुभयो । मैले उहाँहरूलाई गाउँबाटै शुभयात्रा भनी म्यासेज पठाएँ । उहाँहरू बेलायत पुगेपछि दाजुले गीत पठाउनुभएछ म्यासेजमा । बिहानै आँखा खुल्नसाथ फेसबुकमा म्यासेज हेर्दा दाजुको गीत पाएँ । म गीत पढ्नतिर लागेँ ।

छोड्दै थिएँ जन्मथलो

छोड्दै थिएँ जन्मथलो कर्मथलो अँगाल्नलाई
हो कि खुसी पाउन कि त धनको राशि सँगाल्नलाई

सेतो बादल स्वार्थी भयो माछापुच्छ्रे छेकिदियो
एउटा तस्बिर खिच्दाखिच्दै अनुहार नै ढाकिदियो
आऊ एकछिन भन्दाभन्दै फुत्त भाग्यो धौलागिरि
मनमा सजाई राख्दा पनि आँसु छल्क्यो गहभरि

बिदा भयो माछापुच्छ्रे उतै छुट्यो धौलागिरि
आँसु पुछ्दै उड्दै आएँ फर्की जाने बाचा गरी
जति रात बढ्दै आयो टाढा भयो धौलागिरि
अँध्यारो यो रातमा पनि सेतो हिमाल आँखैभरि

टाढा टाढा उड्यो जहाज यात्रु अनि मलाई बोकी
उनीहरू पनि सायद रोजगारीकै खोजमा हुन् कि
मेरो खुसी उतै रह्यो यता पीडा सँगै आयो
देशै छोड्न बाध्य हुँदा मनैभरि बादल छायो

गीतमा दाजुले जन्मभूमि छाड्दाको पीडा अनि हाम्रा बाध्यताहरूलाई घनिभूत रूपले पोख्नुभएको रहेछ । मैले दाजुलाई सुत्ने कोठाबाटै गीतका बारेमा प्रतिक्रियास्वरूप म्यासेज लेखेँ, ‘दाजु नमस्कार । दाजुले एउटा महङ्खवपूर्ण गीत रच्नुभएछ । महङ्खवपूर्ण यस अर्थमा कि गीतले साँच्चै हामी नेपालीको जीवन बोकेको छ । हाम्रा वास्तविकतालाई सलक्कै उतार्नुभएछ । दाजुका धेरै गीतमध्ये यो एक महङ्खवपूर्ण गीत हो । दाजुलाई बधाई छ ।’

त्रिभुवन विमानस्थलको प्रस्थान प्रतीक्षालयमा हङकङ प्रस्थानका लागि प्रतीक्षा गर्दै भावेश भुमरी र दिनेश सुब्बा

नेपालमा बिहानको समय अनि बेलायतमा मध्यरात भएकाले घन दाजु अफलाइन हुनुहुन्थ्यो । सोही दिन बिहान ९ बजेतिर दाजुको म्यासेज आयो, ‘भावेशजी नमस्कार । फुर्सद छ भने केहीबेरमा बोलौँ है । धन्यवाद ।’

घरमा मोबाइलको डाटा त्यति नचल्ने भएकाले एक घन्टाको डाटा प्याक राखेर म हजुरबाले लगाएर हुर्काउनुभएको वर र बनाउनुभएको चौतारीतिर लागेँ । दाजुलाई कल गरेँ, पहिले त सञ्चो बिसञ्चोका कुरा भए । दाजु मेरो घर अनि परिवारका बारेमा धेरै जानकार हुनुहुन्छ । मलाई पनि दाजु आफ्नै अभिभावक लाग्नुहुन्छ । सोही कारण हामी कुरा गर्दा पहिले सञ्चोबिसञ्चोकै कुरा गर्छौंं । त्यसपछि गीतका बारेमा प्रसङ्ग उठाएँ । दाजुले यो गीत प्लेनमै लेखेको कुरा गर्नुभयो । दाजुले भन्नुभयो, ‘त्रिभुवन विमानस्थलबाट प्लेन उड्दा दृश्यहरू सफा र सुन्दर देखिएका थिए । प्लेन पश्चिमतिर लाग्दै गर्दा सुन्दर वन, पहाड, खोला र गाउँहरू देखिन थाले । मैले एकतमासले ती दृश्य हेर्दै थिएँ र मेरो भावना गीत बनेर चलमलाउन थाल्दै थियो । एक्कासि हिमालहरू देखिए । कुनै हिमाल बादलबाहिर कुनै बादलभित्र । मेरो मनमा एक्कासि देश छाड्नुको पीडा मडारियो । त्यतिबेलै मोबाइल .खोलेर गीत लेख्न थालेँ । गीत लेख्दै जाँदा मेरा आँखाबाट आँसुका ढिका बर्सिन थाले । मेरी जीवन सङ्गिनी कृष्णाले सम्झाउँदा पनि म रोइरहेँ र गीत पनि लेखिरहेँ । यो गीत प्लेनमै तयार भयो । बेलायत आउँदासम्म मन हलुङ्गो भएन । म अझै पनि त्यो घटना सम्झाँदा धेरै भावुक हुन्छु ।’ दाजुका कुरा सुनेर म स्वयम पनि भावुक बनेँ । आफूलाई जन्म दिनुभएका बाबाआमा, आफ्ना दिदीबहिनी, दाजुभाइ, गाउँ, देश छाडेर विदेश लाग्दाको पीडा सामान्य कहाँ हुन्छ र !

त्यतिबेलै यो गीत हङकङमा कार्यरत दिनेश सुब्बा दाजुलाई सङ्गीत भर्न पठाउने सल्लाह भयो । मैले दिनेश दाजुलाई त्यतिबेलै खबर पठाएँ । कस्तो संयोग, म दिनेश दाजुसँग हङकङ जाँदै गर्दा प्रस्थान प्रतीक्षालयमा यी दुई दाजुबीच पहिलोपटक भिडियो लाइभमा कुरा भएको थियो । गीतको विषय पनि विदेश जाँदै गर्दाको छटपटी, आफ्नो जन्मभूमिप्रतिको माया ।

म तिहारलगत्तै गाउँबाट काठमाडौँ फर्कें । सङ्गीत भर्नका लागि गीत दिनेश दाजुसामु पठाउने कार्य भयो । गीत पढिसकेपछि दिनेश दाजुले भन्नुभयो, ‘गीतको भावले नेपालको गण्डकी र धौलागिरि क्षेत्रको लोकधुन बोकेको छ । यस गीतमा यस्तै खालको सङ्गीत भर्छु म । गाउन पो कसलाई दिने होला भाइ ?’ मैले यो गीत गाउने गायकका बारेमा घन दाजुलाई सोधेँ । दाजुले दीप श्रेष्ठ दाजुको नाम लिनुभयो । दीप दाजु बेलायत जानुहुँदा उहाँहरूबीच भेट भएको रहेछ । भेट हुनु नै एकप्रकारले सम्बन्ध नजिक हुनु र कतिपय सिर्जनात्मक कार्य सँगै गर्ने वातावरण तयार हुनु हो । मैले दिनेश दाजुसँग यस गीतमा दीप दाजुलाई सुहाउने सङ्गीत भर्न अनुरोध गरेँ ।

गीत रेकर्डपछिको सामूहिक फोटो

हङकङको गतिशील व्यस्तताबाट समय निकालेर दिनेश दाजुले यस गीतमा मिठो सङ्गीत भर्नुभयो । गीत गाउने बारेमा दीप दाजुसँग कुरा पनि अगाडि बढाउनुभयो । सङ्गीत संयोजनका लागि डमी तयार पारेर मलाई पठाउनुभयो । यस गीतको सङ्गीत संयोजन नोर्बु शेर्पालाई गराउने निर्णय गरी मैले डमी शेर्पासामु पठाउने कार्य गरेँ । यतिबेला चीनको वुवानबाट कोरोना भाइसर संसारका अन्य देशहरूमा फैलिँदै थियो । रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूले दिँदै गरेका समाचारहरूबाट त्रस्त थियौँ हामी । यस्तै बेला नोर्बु शेर्पाले यस गीतको संङ्गीत संयोजनको कार्य त पूरा गर्नुभयो तर हामी ज्यान बचाउने थोरै आशा बोकेर काठमाडौँबाट आआफ्ना गाउँतिर फर्कन हतारियौँ । म २०७६ चैत्र ९ गते सपरिवार ठूलो त्रास र कठिनाइका साथ आफ्नो जन्मभूमि प्यूठान फर्कन पुगेँ । कठिनाइ यस अर्थमा कि एक लोकल बसमा यात्रा गर्ने यात्रुको सङ्ख्या १२० जनाभन्दा बढी थियौँ । सिटमा बस्ने त कुरै भएन गल्लीमा उभिनेसम्म ठाउँ मिलेन । हरेक दुई सिटमा तीन जना महिला यात्रु बसेका थिए । त्यतिबेला नेपालमा माक्स कहीँ पनि पाइने थिएन । कहीँकतैबाट जोहो गरेको माक्सको अर्थ पनि बस चडेपछि लगभग सकियो । बसमा सास फेर्नसम्म गाह्रो भयो । त्यति धेरै यात्रु बोकेको बस गन्तव्यस्थान प्यूठान पुग्ला भन्ने आशा न्यून थियो । मर्नुभन्दा बहुलाउनु उचित भन्ने सम्झन बाध्य थियौँ सबै यात्रु । एकदमै ढिलो गरी बस प्यूठान पुग्यो । जीवनमा यस्तो असहज यात्रा मैले पहिलोपटक गरेँ । काठमाडौँ कहिले फर्किने सिर्जनाका कार्य कहिले गर्ने ? यी विषयमा सोच्न पनि नसक्ने अवस्था आयो । कोरोना भाइरसको पहिलो लहरबाट आक्रान्त बन्यो नेपाल ।

मैले प्यूठान बसाइँकै समयमा घनबहादुर थापा दाजुको ‘फूलको मुस्कान’ गीतसङ्ग्रहको भाषासम्पादनको कार्य पूरा गरी डिजाइनका लागि अनामनगर काठमाडौँस्थित दिदीबहिनी प्रेसमा पठाएँ । किताबको डिजाइन सकेपछि भाइ सुरज व्यञ्जनकारले पीडीएफ फाइल पठाउनुभयो । त्यही फाइलमा गल्ती सच्याउने कार्य गरेँ । फोनबाटै सबै कुरा मिलाएर किताब छाप्ने कार्य पूरा भयो । यो गीत पनि किताबमा छापियो तर तत्काल रेकर्ड गर्ने वातावरण भने छँदै थिएन ।

मेरो करिव ८ महिनाभन्दा बढीको बसाइँ गाउँमै भयो । दशैँ तिहारलगत्तै काठमाडौँ त फर्कें तर काठमाडौँ पहिलेजस्तो थिएन । महङ्गी, अभाव र मान्छेले मान्छेप्रति गर्ने शङ्काले आक्रान्त थियो शहर । कोरोनाको दोस्रो लहरले त्रसित हुँदै थियौँ हामी । कुनै पेशा र कार्यबिनै दिन, हप्ता र महिनाहरू कोठामै सीमित भए र पीडामै बिते । २०७७ चैत्र महिनामा कोरोनाको दोस्रो लहर नेपाल भिœयो । दोस्रो लहरले चिनेजानेका धेरै व्यक्तिहरूलाई यस संसारबाट टिपेर लग्यो । हामी आफ्नो परिवारका सदस्यहरूलाई समेत रोगका वाहक सम्झन विवश बन्यौँ । एक अर्कोसँग नजिक नहुने घरायसी निययम बनायौँ ।

धेरै कवि, कलाकार कोरोना भाइरसबाट सङ्क्रमित भएका फेसबुक स्टाटस र समाचारहरू आउँदै गर्दा सामाजिक सञ्जाल हेर्न छाड्नुपर्ने अवस्था आयो । मान्छेहरू एकछाक खान नपाएर मृत्यु वरण गर्न विवश बनेका समाचारहरू पनि आए । यस सङ्क्रमणबाट दीप श्रेष्ठ दाजु पनि अछुत रहनुभएन । उहाँ अस्पताल भर्ना हुनुभएको र स्वास्थ्यस्थितिका बारेमा धेरै कवि, कलाकार र पत्रकारहरूले सामाजिक सञ्जालबाट निरन्तर जानकारी गराए । लामै समय अस्पताल बसेर दीप दाजु स्वास्थ्यलाभ गरी घर फर्किनुभयो । कोरोनाको दोस्रो लहर मत्थर त भयो तर दीप दाजुको स्वास्थ्यकै कारण यो गीत गर्ने भन्ने समय लम्बिँदै आयो । जाडो याम सुरुभयो, यस्तो बेला गीत गर्दा राम्रो नहोला भन्नेमा दिनेश दाजु र मेरो सल्लाह भयो । म र मेरो परिवार पनि कोरोनासङ्क्रमणबाट अछुत रहेन । अलि गर्मी चढ्न थाल्यो, गीत गरौँ भन्ने सल्लाह भएपछि सङगीत संयोजक नोर्बु शेर्पालाई खबर गरेँ र गीतमा बाजा राख्ने समय मिलाएँ । म आफैँ उपस्थित भएर ह्वाइट साउन्ड स्टुडियो अनामनगरमा दिनभरि लाइभ बाजा राख्ने काम ग-यौँ । उता दिनेश दाजुले दीप दाजुसँग गीत गाउने समयका बारेमा सल्लाह गर्नुभयो । दीप दाजुले वैशाख ७ गतेको समय मिलाउनुभयो । यसैबीचमा आफ्ना बाबाआमाको ८४ औँ जन्म दिवसका लागि घन दाजु बेलायतबाट नेपाल आउनुभयो । गीतकारकै उपस्थितिमा गीत रेकर्ड गर्ने भन्ने सोच बन्यो र मैले घन दाजुलाई भनेँ । बाबाआमाको जन्म दिवसको कार्यक्रममाझ अति व्यस्त हुँदाहुँदै पनि घन दाजु दीप दाजुलाई भेट्न उत्साहित हुनुभयो । यस्तो हुनु संयोगको कुरा रहेछ ।

गीत रेकर्डपछिको सामूहिक फोटो

सङ्गीतकार दिनेश सुब्बा दाजु हङकङमै रहनुभएकाले यस गीत रेकर्डिङको समयमा उपस्थित हुने सम्भावना भएन । मैले रेकर्डिङको समयमा नोट र अन्य सामान्य कुरा हेर्नका लागि सङ्गीतकार तथा सङ्गीत संयोजक कुमार थापालाई बोलाएँ । उहाँको पनि एउटा जिम्मेवारी छ यस गीतको स्वरमा अटो ट्युन गर्ने साथमा यस गीतलाई सम्पादन गर्ने मिन बिस्ट भाइ पनि उपस्थित हुनुभयो । घन दाजुलाई बाइकमा राखेर गायक भाइ पवन रानाले स्टुडियोमा ल्याउनुभयो । दीप दाजु आफूले दिनुभएको २ बजेको समयमै स्टुडियोमा आउनुभयो । गीतकार र गायकबीचमा पुनः परिचय भयो । परिचयसँगै दीप दाजुले भन्नुभयो, ‘अलि फरक विषयमा असाध्यै राम्रो गीत लेख्नुभएको रहेछ । मलाई सबैभन्दा मन पर्ने ठाउँ पोखरा हो । दुई तीन दिन फुर्सद हुँदा म पोखरा जाने गर्छु । विदेश जाँदा मैले देखेका हिमाल र नेपालका दृश्यहरू यस गीतले पटकपटक स्मरण गराइदिएको छ ।’ गीतका बारेमा यी दुई दाजुले कुरा गर्दै गर्दा उहाँहरूलाई थाहै नदिई मैले आफ्नो मोबाइल तेस्र्याएर फोटाहरू खिच्दै थिएँ । फोटाहरू खिच्दै गरेको भन्ने थाहा पाएर दीप दाजु अलि सजग पनि हुनुभयो ।

दीप दाजु रेकर्डिङ रुममा पस्नुभयो । हामी कन्ट्रोल रूपमा बस्यौँ । दीप दाजुले आफ्नो कर्णप्रिय स्वरमा गीत गाउन थाल्नुभयो । यता दाजुको स्वरलाई रेकर्ड गर्न रोबर्ट लिम्बू भाइका औँला कम्प्युटरका किबोर्डमा सल्बलाए । दाजुले यस गीतलाई सुरुदेखि अन्त्यसम्म तीनपटक गाउनुभयो । हामी सबैले रेकर्डिङ रुममै पालैपालो केही फोटाहरू खिच्यौँ । दीप दाजु रेकर्डिङ रुमबाट निस्कनुभयो र घन दाजुले एउटा बन्दी खाम दीप दाजुलाई हस्तान्तरण गर्नुभयो ।  पक्कै पनि दीप दाजुको स्वरको सम्मान हो यो । हामीले गीतसङ्गीतकै समसामयिक र पुराना कुरामा केही मिनेट बितायौँ ।

समय बेलुकातिर घर्किंदै थियो । कुमार थापाले दीप दाजुलाई बाइकमा राखेर घरसम्म पु¥याउनुभयो र स्टुडियो फर्किनुभयो । घन दाजु र पवन राना पनि बाइकबाट घरतिर हुइँकिनुभयो । हामी भने एक मःम पसलतिर हानियौँ । मःम खाँदै गर्दा आकाश गर्जिंदै पानी दक्र्यो । मिन भाइले मलाई बाइकमा राखेर थापाथलीसम्म लैजाँदै गर्दा पानीबाट बच्न अनामनगरको पूर्वीगेट अगाडिको एक चिया पसलमा पस्यौँ र एकएक कप चिया पियौँ । पानी अलि रोकिएजस्तो भयो र हामी थापाथलीतिर लाग्यौँ । थापाथली पुग्दा म पानीले निथ्रुक्क भएँ । थापाथलीबाट लगनखेलको टेम्पो चढेँ, लगनखेलबाट टौखेलको माइक्रो । यस यात्रामा यसै गीतको आयाम मसँगै यात्रा गरिरह्यो ।

गीत रेकर्डपछिको सामूहिक फोटो

गीतको बोलः छोड्दै थिएँ जन्मथलो
रचनाकारः घनबहादुर थापामगर
सङ्गीतकारः दिनेश सुब्बा
सङ्गीत संयोजकः नोर्बु शेर्पा
रेकर्डिस्टः रोबर्ट लिम्बू
ध्वनिसम्पादकः मिन बिस्ट
स्टुडियोः ह्वाइट साउन्ड स्टुडियो, अनामनगर, काठमाडौँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार