(कविता)
रानी खानुभन्दा पहिले सानी खानुपर्छ
कालो सेतो गोटी पहिले मार्नुपर्छ,
प्वालमा पसाल्न पाउडर छर्केर भएपनि
गोटीलाई एम्बसमा पार्नुपर्छ,
सपना बुनेर सुतेकालाई ब्युँझाउन
तातो थाप्ने छाती ढाल बनाएझैँ,
रातमा होमवर्क गर्न कलम समाएको हात
मसाल जुलुसको राँको दन्काएझैँ
असारे गर्न हिँडेको हलीलाई बन्दुक थमाएझैँ
रानी खानुभन्दा पहिले खानुपर्छ सेता काला गोटीहरु
स्ट्राइकर ताक्ने चालहरु !
तिम्रो होडबाजीमा
रैथाने बट्टाई चरा
क्यारमबोर्डमा सेता काला गोटी बनेर बिस्कुन लाग्नुपर्ने ?
तिम्रो हारजितमा महामारीले थला परेको ज्यान मुख छोपेर
गुफा बस्नुपर्नेमा चर्को आवाजमा खुला कुद्नुपर्ने ?
छ फिट त कता हो कता
ठेलमठेल चार गोटी एकैपटक घुसेर
तिम्रो विजयमा सहिद बन्नुपर्ने ?
सबै गोटी कित्ताकाट हुने
दुवै साइडमा चाङ लागेर
गोटी गनिरहेछ स्ट्राइकर
बिचरा क्यारम बोर्ड रितै,
आखिर क्यारमबोर्ड हारेको छ एक्लै !
– प्यूठान, हालः न्युयोर्क, अमेरिका