ट्रेडमिल

(कविता)

  सुधीर ख्वबि  311 पटक हेरिएको

 

हिँड्ने गर्छु म सधैँ
बिहान र साँझ
या फुर्सद वा जाँगर चलेको बेला
पाइलाहरू गनी गनीकन
रहरहरू उमारी उमारी
दुरी नापिरहन्छु हरदम
लक्ष्य तानिरहन्छु आफूतिर
हर स्पन्दनको गतिसितै
मानौँ फुल्थ्यो हजार रङका
प्रेमिल फूलहरू
आकार लिन लाखौँ उमङ्गका
सुनौला सपनाहरू
उत्साहित हुन करोडौँ मनका
आकाङ्क्षा र विश्वासहरू
तर
जतिबेला केही सास सुस्ताउन
जब रोक्थेँ पाइला
ट्रेडमिलको बेल्टमा
तब मानौँ खुल्दथ्यो आँखा
यथार्थताको धरातलमा
फुलिरहेको सम्भावना
ओइलिएर झथ्र्यो
र
आफूलाई पाउँथेँ अवाक
जहाँको त्यहीँ
ठिक त्यस्तै नै
जस्तै मेरो देश पनि त्यस्तै
उभिरहेको पाउँछु
म सँगसँग नै अस्तव्यस्त
अपरिवर्तित अवस्थामा
कहीँ नपुगिने ट्रेडमिलको बाटोमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार