पुग्नु छ निस्तेज गाउँ

(कविता)

  समीप बैरागी  266 पटक हेरिएको

हिँड न साथी हिँड
पुग्नु छ एकपटक
छातीभरी भिरफूल फूलाएर उभेको
प्रिय पहाडको छानोमुनि
दियो पर्खिबसेको निस्तेज गाउँ ।

बादलका पहाडहरू चिर्दै–चिर्दै
गुँड छोडेर उडेका चराहरूले
भेटे कि भेटेनन् न्यायसागर
खर्चेर नव यौवनको पसिना
रोपेर मुटुमा देशको असीम प्रेम
पत्थरमा सुन्दर फूल फुलाउनेहरूको
फूल्यो कि फूलेन– जिन्दगी
असिनाले चुटेका कोपिलाहरू
फेरि फक्रिए कि फक्रिएनन्
गरिबीले कुल्चिएका कलिला मुनाहरू
विद्यालयको आँगनसम्म पुगे कि पुगेनन्
पत्ता लगाउनु छ यसपालि ।

मध्य रातमा चिच्याइरहने
भग्नावशेष बङ्करमा पुरिएको
अस्थिपञ्जर कसको हो,
पवनको आवेकसँग
कारुणिक गुञ्जन छोडेर
टाकुरोमा सधैँ सधैँ फहराइरहने
कुनै पार्टीको झण्डाजस्तो
निर्दोष पछ्योरी कसको हो ?
सनाखत गर्नु छ यसपालि ।

हिँड न साथी हिँड
पुग्नु छ यसपटक
अधुरा, सपनाका चाङहरू सुमसुम्याउँदै
खुसी पर्खिबसेको निस्तेज गाउँ ।

जुन टिपेर ल्याउने सपना बोकेर
झिसमिसेमा निस्केको छोरा
उतै अस्ताएको
दुखद् समाचार सुनेपछि रेडियोमा
मुटु निचोरेर आँखाबाट भेरी बगाएकी
बूढी आमाको हृदयविदारक कथा
यी कानहरूले सुन्नु छ यसपालि ।

खाजा टोक्दै–टोक्दै शिखर चढिरहेका
साहसी चेलीहरूको वीरता
शरीरका मांसपेशीहरूले छोड्दै गरेको
बूढो बाबाको जीवनी
नाङ्गा पैतालाहरूले
चुमेर हरेक भूगोलको माटो
कोइलाबासबाट नुन बोकेर
जुग थेगेको कहालीलाग्दो इतिहास
यी हातहरूले लेख्नु छ यसपालि ।

बम होइन कलम राख झोलामा
लेख्नु छ हामी
अहिलेसम्म नलेखिएको गाउँको वेदना
बारुद होइन रङ राख गोजीमा
रङ्गाउनु छ हामी
अहिलेसम्म नरङ्गिएको गाउँको अनुहार ।

हिँड न साथी हिँड
पुग्नु छ यसपटक
आफ्नै देशमा अपरिचित
शान्ति पर्खिबसेको निस्तेज गाउँ ।

– रोल्पा, हालः पोखरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार