चियागाछ अनि आमा

(कविता)

  दीप मिलन प्रधान  438 पटक हेरिएको

तपाईं थाक्नुहुन्छ कि थाक्नुहुन्न
मलाई थाहा छैन
तर म अनुभव गर्छु
तपाईंको कोमल हत्केलाका घाउ
निधारको पसिना अनि अदम्य साहस
देख्छु विश्वासको घर,
कति मिठो लाग्छ नि परिश्रमको गाँस
घुट्को पिएर अतृप्त सपनाको
जहाँ तपाईंले आफ्नो सम्झेर गोडेका मेलोका कान्लाहरू
भोक, प्यास अनि शरीरको कटकट दुखाइमा पनि आनन्द फुलेका
चियाका हरिया गाछहरू कति मलिला भएका छन्
त्यहाँ सपनाहरु रोपिएको हुनुपर्छ त्याग, समर्पण र विश्वासका
किन कि त्यहाँ चर्किएका हत्केला
अनि मगमग सुगन्ध आउने रगतको पसिनाले भविष्य लेख्दै छ ।

मलाई हुर्काउने हातहरू कति कोमल
मलाई ठूलो मान्छे बनाउने सपना आह ! कति विश्वासिलो
केही हदसम्म जीवनलाई सार्थक बनाउँछु भन्ने अटल विश्वास
मलाई लाग्छ तपाईं नभए
न त मालिकले धाक पिट्थे
न त सपनाहरू हुन्थे
हुन्थे भने अभिजालो पलाएर उराठ लाग्दा बूढा चियागाछ मात्र हुन्थे ।

म सोचिरहन्छु
तपाईं दुखेको मैले कहिले देखिनँ
तपाईं झुकेको कहिले देखिनँ
बरु देखेँ दर्द लुकाएर हाँसिरहनुभएको
एउटा झरिलो कथा भएर बाँरिहनुभएको ।

– फुवागडी चियाबारी, मिरिक, दार्जिलिङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार